श्रमदान जुटाएर व्यवस्थित खेलमैदान


बेनी (म्याग्दी), १४ पुस । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।

स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।

न्यू देउराली युवा क्लबको नेतृत्वमा गाउँपालिका र वडाकोे बजेटमा चन्दा सहयोग र श्रमदान जुटाएर करिब ८१ लाख बढी लगानीमा खेलमैदान तयार गरिएको हो । चार वर्षअघि जग्गा खरिद गरेर सुरु भएको खेलमैदान निर्माण योजनामा अहिलेसम्म ८१ लाख ४५ हजार नगद लगानी भएको छ भने युवाहरूले लाखौँ रकम बराबरको श्रमदानसमेत गरेका छन् ।

ढलानसहितको खेलमैदान, क्लब भवन, शौचालय, वरिपरी घेराबार, दर्शकका लागि प्यारापिट र कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माण गरिएको क्लबका अध्यक्ष खिमबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार खेलमैदान निर्माण भएपछि गाउँमा युवालाई दैनिक रूपमा खेल अभ्यास गर्न र विभिन्न अवसरमा खेलकुद गतिविधि गर्न सहज भएको छ ।

जग्गा सम्याउने, खेलमैदान ढलान, ग्यावियन झाली लगाउने, स्टेज निर्माण, प्यारापिट, घेराबार, बास्केटबलको फाइबर बोर्ड राख्ने र भलिबलको पोल राख्ने लगायतका काम गरेर व्यवस्थित खेलमैदान तयार भएको क्लबले जनाएको छ । खेलमैदानमा निर्माण भएको प्याराफिटमा छानो राखेर थप व्यवस्थित बनाउने क्लबको योजना रहेको छ । खेलमैदान निर्माणमा वडा, गाउँपालिका, स्थानीय आमा समूह, बाबा समूह, टोल समूह स्वदेश तथा विदेशमा रहेका स्थानीयवासीले आर्थिक सहयोग गरेका छन् ।

खेलमैदान निर्माण गर्न वडा र पालिकास्तरीय योजनाअन्तर्गत खेलमैदान ढलानमा १४ लाख, खेलमैदान परिसरमा क्लब भवन बनाउन छ लाख, शौचालय बनाउन १३ लाख, स्टेज निर्माणमा १० लाख, घेरावार निर्माणमा चार लाख, प्याराफिट निर्माणमा छ लाख बजेट विनियोजन भएको थियो ।

बास्केटवल मैदानमा फाइबर बोर्ड राख्न देउराली आमा समूहले दुई लाख २० हजार सहयोग गरेको थियो । देश तथा विदेशमा रहेका राम्चेबासीबाट चन्दा सङ्कलन अभियानबाट थप करिब २६ लाख बराबरको सहयोग जुटाएर खेलमैदानको पूर्वाधार निर्माणमा परिचालन गरिएको क्लबले जनाएको छ ।

“हामीले सात लाख ऋण खोजेर खेलमैदान बनाउन सुरु गरेका थियौँ, वडा र गाउँपालिकाबाट नियमित रूपमा बजेट विनियोजन भयो, स्वदेश तथा विदेशमा रहेका स्थानीयवासीले मन खोलेर सहयोग गर्नुभयो, हामी युवाहरूले पनि सकेको श्रमदान ग¥यौँ, अहिले खेलमैदानका लागि आवश्यक पर्ने अधिकांश पूर्वाधार तयार भएको छ”, क्लबका अध्यक्ष पुर्जाले भने । उनका अनुसार क्लबले बजेटमा सहयोग र श्रमदान जुटाएर पूर्वाधार निर्माण गरी कोषमा केही रकम बचत गर्न सफल भएको छ ।

विसं २०४१ मा स्थापना भएको यस क्लबले यसअघि विद्यालय परिसरमा रहेको खेलमैदानमा खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो । युवाहरूको खेल अभ्यास र गतिविधिसँगै विद्यालयको आन्तरिक खेलकुद तथा पठनपाठन प्रभावित बन्ने गरेको अवस्थामा सरकारी तबरबाट विनियोजन हुने बजेटमा थप सहयोग रकम र श्रमदान जुटाएर युवाहरूले उत्कृष्ट काम गरेको अन्नपूर्ण–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

“चार वर्षको अवधिमा सरकारी बजेट, सहयोग रकम र श्रमदानबाट करिब एक करोडको हाराहारीमा पूर्वाधार बनेको छ, यो वर्षसमेत क्लबको भवनमा सिलिङ बनाउन पालिकाबाट तीन लाख बजेट विनियोजन गरेका छौँ”, वडाध्यक्ष गर्बुजाले भने । नवनिर्मित खेलमैदानमा नियमित खेल अभ्यासका साथै मेला पर्व र गाउँमा आयोजना हुने सार्वजनिक महत्वका कार्यक्रम सञ्चालनमा सहज भएको छ । रासस