इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु


जकार्ता, १४ पुस । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दमकल विभागका प्रमुख जिमी रोतिन्सुलुले आगलागी आइतबार राति करिब ८ः३० बजे सुरु भएको र धेरै वृद्ध बासिन्दा आफ्नो कोठामा विश्राम गरिरहेका बेला घटना भएको बताए ।

उद्धार टोलीले १२ जनालाई सुरक्षित उद्धार गरी स्थानीय अस्पतालमा पठाएको छ । स्थानीय सञ्चार माध्यमले देखाएको भिडियोमा आगोले भवनलाई व्यापक रूपमा ढाकेको देखिन्छ र स्थानीयहरूले वृद्ध बासिन्दालाई बाहिर निकाल्न प्रयास गरेका थिए ।

अधिकारीहरूले मृतकहरूको पहिचान प्रक्रिया सुरु गरेको बताएका छन् भने परिवारसँग समन्वय गरी थप विवरण सार्वजनिक गरिने बताइएको छ । इन्डोनेसियामा पछिल्लो समय आगलागी घटनाहरू बढिरहेका छन् । यसै महिनामा राजधानी जकार्तामा सात तले कार्यालय भवनमा आगो लाग्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा निकेल प्रशोधन कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो ।