अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम


तेहरान, १४ पुस । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यस प्रक्षेपणले इरानको अन्तरिक्ष कार्यक्रम विस्तार हुँदै गएको सङ्केत दिएको छ । ‘पायाँ’ उपग्रह हालसम्मकै सबैभन्दा उन्नत स्वदेशी उपग्रह मानिन्छ, जसले जलस्रोत व्यवस्थापन, वातावरणीय अनुगमन तथा भू–नक्साङ्कनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

‘जफर–२’ उपग्रह प्राकृतिक स्रोत, कृषि र विपद् व्यवस्थापनका लागि उपयोगी उच्चस्तरीय तस्बिर उपलब्ध गराउन सक्षम छ । ‘कोसर–१’ उपग्रहले पनि पृथ्वीको अवलोकन गरी कृषि, जलस्रोत तथा भूभाग अनुगमनमा महत्वपूर्ण योगदान दिने जनाइएको छ ।

इरानी अधिकारीहरूले उपग्रह कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र सञ्चालन गरिएको स्पष्ट पारेका छन् । रासस