काठमाडौँ, १३ पुस । गत असार २४ गते बिहान ३ बजेको समयमा रसुवा गोसाईकुण्ड गा.पा वडा नं.२ टिमुरेमा गएको भीषण बाढीको कारणले चाइना र नेपालको सिमानामा रहेको पुल समेत बगाएको हुँदा रसुवा नाका पूर्ण रूपमा अवरुद्ध भएको थियो। उक्त घटनापछि चाइनाबाट आयात हुने विभिन्न मालवस्तुहरू हालसम्म चाइनामै रोकिएका छन्।
सम्बन्धित निकायबाट प्राप्त जानकारीअनुसार रसुवा नाका २०२५ डिसेम्बर २८ देखि मानिसहरूको आवतजावतका लागि तथा २०२६ जनवरी १ देखि मालवाहक ट्रकहरूको आवतजावतका लागि पुनः सञ्चालनमा ल्याइने भनिएको छ। तर नाका सञ्चालनको तयारी भइरहेकै अवस्थामा रसुवा जिल्लाका केही व्यक्तिहरूले बाहिरी जिल्लाका व्यवसायीहरूलाई चाइना साइटतर्फ जान नदिने भन्दै विवाद उत्पन्न गरिरहेका छन्।
व्यवसायिक मालवस्तुको चेकजाँच, समन्वय तथा आफ्नो लगानी सुरक्षित गर्न सम्बन्धित व्यवसायी स्वयं चाइना साइटमा उपस्थित हुनुपर्ने बाध्यता रहँदै आएको छ। यस्तो अवस्थामा जिल्लाका आधारमा व्यवसायीहरूलाई रोक लगाइँदा नेपालभरिका व्यापारीहरू गम्भीर आर्थिक क्षति र जोखिममा पर्न सक्ने अवस्था सिर्जना भएको छ।
यस प्रकारको अवरोधले व्यवसायिक स्वतन्त्रता, लगानी सुरक्षा तथा राष्ट्रिय व्यापार प्रणालीमा नकारात्मक असर पार्ने भएकाले उत्पन्न विवादलाई तत्काल समाधान गर्न नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइन्छ। जुनसुकै जिल्लाका भए पनि नेपालभरिका चाइना साइटसँग सम्बन्धित व्यवसायीहरूलाई भेदभावरहित, सहज र सुरक्षित रूपमा आवतजावत गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग व्यवसायीहरूले जोडदार माग गरेका छन्।




प्रतिक्रिया