कार्की आयोगमा पूर्व गृहमन्त्री लेखकको बयानः तत्कालीन प्रधानमन्त्री ओली र मैले बल प्रयोग गर्न कुनै पनि आदेश दिएका थिएनौं


काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगमा पुगेर बयान दिएका छन् । आज (सोमबार) बयान दिएका पूर्व गृहमन्त्री लेखकले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै तत्कालीन सरकारले अशान्ति हुने, बल प्रयोग गर्ने कुनै निर्णय नगरेको र त्यस्ताखालको योजनाहरु पनि नबनाएको बताए ।

उनले केन्द्रीय सु्रक्षा समितिको बैठक पनि बसेको र बैठकपछि लगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सम्भावित घटनाबारे जानकारी गराएको पनि बताए । प्रधानमन्त्री ओलीसँग पनि अनौपचारिक छलफल भएको र सुरक्षाको उचित प्रबन्ध गर्ने निर्णय गरेको उनले बताए । सबै सुरक्षा निकायको बीचमा समन्वय गरेर अगाडि बढ्न आफूहरुले निर्देशन दिएको पनि उनले बताए ।

गत भदौ २३ गते विहान माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुग्दासम्ममा घुसपैठ भएको उनले दाबी गरे । ‘आन्दोलन हिंसात्मक बनाइयो । दुःखद् घटना भएको स्थिति रह्यो । धेरै मानिसहरु घाइते हुनुभयो । मैले गृहमन्त्रीको हैसियतले म अत्यन्त मर्माहित भएँ । मलाई पीडा भयो । लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्ने पार्टीको कार्यकर्ता भएको कारणले स्वतन्त्रतालाई रोक्न कुरा राम्रो भएन । घुसपैठ भयो र उग्र भइसकेपछि म मर्माहित भएँ र नैतिकताको आधारमा राजीनामा गरेँ,’– उनले भने ।

आफूले त्यसैदिन पदीय नैतिकताको आधारमा राजीनामा गरेको उनले बताए । गृहमन्त्रीको हैसियतले काम गर्दै जाँदा आफूले बल प्रयोग गर्ने कुनै आदेश नदिएको र गृहमन्त्रीले आदेश दिने व्यवस्था पनि नरहेको उनले बताए । कुनै पनि प्रदर्शन कसरी नियन्त्रण गर्ने, बल प्रयोग गर्ने वा नगर्ने भन्ने कुरा कानूनले प्रष्ट रुपले पदाधिकारीहरुलाई जिम्मेवारी दिएको उनले बताए । तत्कालको अवस्थालाई विश्लेषण गरेर निर्णय गरेर अगाडि बढ्न सकिने, प्रधानमन्त्री वा मन्त्रीले आदेश दिने व्यवस्था नरहेको उनले बताए । आफूले यी कुरा आयोगमा पनि लिखित रुपमा प्रष्ट रुपले राखिसकेको उनले बताए ।

‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने कुनैखालको लिखित, मौखिक कुनै आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानूनी व्यवस्था छैन । कति बल प्रयोग गर्ने, कसरी गर्ने, के गर्ने भन्नुपर्ने छैन । तर, राजनीतिक नेतृत्व लिएको हुनाले म अत्यन्त मर्माहित भएर पदीय नैतिकताको आधारमा राजीनामा गरेको हो,’– उनले भने ।