लेखकको बयान अझैं बाँकी, त्यसपछि ओलीको पालो


काठमाडौं, १४ पुस । भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिएको छ । बयानका लागि आज दिउँसो लेखक आयोगको कार्यालयमा पुगेका थिए । आयोगले लेखकको बयान अझैं बाँकी नै रहेको बताएको छ । लेखकको बयान सकिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी रहेको आयोगले बताएको छ ।

आयोगका अनुसार बयान नसकी लेखक र ओलीमाथि लगाइएको स्थानहद खुला गरिने छैन । आज लेखकको प्रारम्भिक बयानमात्रै भएको र थप बयान अर्को दिन हुने बताइएको छ । एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि केही दिनभित्र पत्र पठाउने तयारी भइरहेको छ ।

सरकारले भदौ २३ र २४ गतेको घटना छानविनका लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले हाल बयानलगायतका कामहरु गरिरहेको छ । तत्कालीन गृहमन्त्री लेखकले आयोगमा गएर बयान दिए पनि ओलीले भने आफू बयान दिन नजाने उद्घोष गरिसकेका छन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले आयोगको वैधानिकतामाथि नै प्रश्न उठाउँदै असंवैधानिक तवरले बनेको आयोगमा बयान दिन नजाने बताउँदै आएका छन् ।