काठमाडौं, १४ पुस । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् । स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सहभागी हुने सबै दलबाट निर्वाचन आयोगमा सूची दर्ता भएसँगै देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको बताएका हुन् ।
मन्त्री खरेलले आगामी फागुन २१ गते चुनाव हुन्छ की हुँदैन भन्ने बहसको अन्त्य भइसकेको भन्दै तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए । ‘चुनाव हुन्छ कि हुँदैन भन्ने बहस पनि अब अन्त्य भइसकेको छ । आगामी निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नेगरी सबैले भाग लिने वातावरण बनाउनुपर्छ,’– उनले भने ।
मन्त्री खरेलले विगतमा विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएको उल्लेख गर्दै यसपटक पनि सरकार र राजनीतिक दल शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सफल हुने विश्वास व्यक्त गरे । ‘निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको हो । सरकारले ढुक्क भएर मतदान गर्ने वातावरण निर्माण गरिरहेको छ । सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेकाले शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या हुँदैन । विगतमा जस्तै हामी निर्वाचन गरेर सफल उदाहरण पेस गर्नेछौँ,’– उनले भने ।
मन्त्री खरेलले देशको विकास र समृद्धिका लागि सबैलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउनसमेत आग्रह गरे । हरेक निर्वाचनमा इ–भोटिङ तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय यसपटक पनि चर्चामा रहेको उल्लेख गर्दै उनले त्यसमा सरकारले अझै प्रयास जारी राखेको बताए । अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे गम्भीर रूपमा छलफल भइरहेको पनि मन्त्री खरेलले जानकारी दिए ।
उनले सबै सरोकार भएकाहरूलाई निर्वाचन सफल बनाउन आह्वान गर्दै स्मार्ट हुलाक सेवामार्फत हुलाक सेवा घरघरमा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिए ।




प्रतिक्रिया