काठमाडौं, १५ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्दिन आग्रह गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा.भट्टराईले बालेनले आफूलाई उक्त प्रस्ताव गरेको खुलासा गरेका हुन् । उनले आफूलाई बालेनले पूरा सहयोग गरिदिन र रास्वपामै आएर संसद्को चुनाव लडिदिन आग्रह गरेको बताए ।
केही दिनअघि बालेन र आफूबीच भेट भएको स्मरण गराउँदै बाबुरामले भने, ‘बालेनजीले पनि अस्ती भन्दै हुनुहुन्थ्यो– हामीलाई पूरा सहयोग गर्नुपर्यो । म त गर्छु, कस्तो के सहयोग ? भनेको । अहिले विचारले मात्रै होइन, तपाईँ त संसद्मै आएर उठ्नुपर्यो पनि भन्नुभयो ।’
बालेनको उक्त प्रस्तावमा आफूले ‘अहिले बेला आएको छैन, अहिले नभन्नुस्, पछि कुरा गरौंला’ भनेर जवाफ दिएको पनि उनले बताए । डा.भट्टराईले आफूले बालेनलाई वैचारिक, राजनीतिक ढंगले पूरा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले आफू अब निर्वाचन नलड्ने र सत्ताको आकांक्षी नबन्ने सोचमा रहेको पनि बताए ।
‘मेरो चाहना चाहिँ, म अब निर्वाचन पनि नलडौं । अरुलाई सहयोग गरौं । सत्ताको आकांक्षी पनि नबनौं । वैचारिक, राजनीतिक ढंगले योगदान गरौं भन्ने ठाउँमा नै छु म,’– उनले भने ।




प्रतिक्रिया