गाजामा बायरन आँधीका कारण दुई लाख भन्दा बढी मानिस प्रभावित : युएनआरडब्लुए


न्युयोर्क, १५पुस ।  प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ । गत १०–१७ डिसेम्बरको बीचमा आएको आँधीले आवासिय भवनहरु ध्वस्त बनाउनुका साथै शरणार्थी शिविरहरुमा क्षति पुगेको एजेन्सिले जनाएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत युएनआरडब्लुले लामो युद्ध र विस्थापनले गाजाका मानिसहरूलाई भग्नावशेष, अस्थायी आश्रय वा जीर्ण शिविरहरुमा बस्न बाध्य पारेको पुष्टि गरेको छ । आँधीलाई “प्राकृतिक प्रकोपको रूपमा वर्णन गदै यसले व्यापक विनाश र इजरायलीको नरसंहार पछि सुरक्षित आश्रयको अभावले गर्दा तिव्र क्षति भएको जनाएको छ ।

युएनआरडब्लुएका अनुसार आँधीका कारण कम्तिमा १७ वटा भवनहरू ढलेका छन् भने ४२ हजार भन्दा बढी शिविर तथा अस्थायी आश्रयहरू क्षतिग्रस्त भएका छन्, जसले गर्दा कम्तिमा दुई लाख ३५ हजार मानिसहरू प्रभावित भएको जनाइएको छ ।

यस महिनाको सुरुमा गाजामा मौसमी प्रकोपका कारण चार बालबालिका सहित १८ जनाको मृत्यु हुनुका साथै लामो युद्धबाट थलिएका लगभग ९० प्रतिशत गाजनहरुको आश्रय स्थलहरू बाढी प्रभावित भएको जनाइएको छ । रासस