बागमती, १६ पुस । बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण गरेको छ ।
डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलकाअनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलस्थित ऊँ वृद्धाश्रम, हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौँडा उपमहानगरपालिका–५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौँडा उपमहानगरपालिका–१० राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको छ । विभिन्न सामुदायिक वनहरूसँगको सहकार्यमा वन कार्यालयले दाउरा बाँडेको हो ।
यसैबीच, चिसोका कारण यहाँका ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका छन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिए । अस्पतालमा दैनिक ६० जना रुघाखोकी, ज्वरो र निमोनियाका बिरामी आउने गरेका छन् ।
मनहरी अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताललगायत ग्रामीण अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमु्ख किरण श्रेष्ठले बताए । रासस




प्रतिक्रिया