दलहरु निर्वाचनमा जान तयार भइरहेको बेला संसद् पुनर्स्थापनाको बहस गर्नु कसैका लागि पनि कल्याण हुँदैनः वरिष्ठ अधिवक्ता बिडारी (भिडिओसहित)


काठमाडौं, १६ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सबै दल निर्वाचनमा भाग लिनका लागि आँतुर रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता बिडारीले निर्वाचन भएन भने देशमा झनै अस्थिरता हुने बताएका हुन् । उनले निर्वाचनबाट जनप्रतिनिधिहरु चयन भएर लोकतान्त्रिक सरकार आउनुपर्ने बताए । निर्वाचन हुनुपर्छ र हुन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको पनि उनले बताए ।

‘संसद् पुनर्स्थापना भनेर जो मान्छेले रिट हाल्नुभएको छ, उहाँहरुको अधिकार त हो । तर, त्यसले काम गर्दैन । त्यही संसद्को कारणले गर्दा यो विद्रोह गर्नुपरेको हो । त्यो संसद् व्युँताएर समस्याको समाधान हुँदैन । निर्वाचन नै गर्नुपर्छ । दलहरु निर्वाचनमा जान तयार भइरहेको बेलामा अब संसद् फेरि पुृनर्स्थापना हुन्छ भनेर बहस गर्नु, त्यतापट्टी ध्यान दिनु कसैको लागि पनि कल्याण छैन । फागुन २१ गते यता नै त्यो मुद्दाको फैसला हुन्छ भनेर मलाई लाग्दैन,’ उनले भने ।

उनले निर्वाचनको वातावरण बनिरहेको पनि बताए । मात्रै भदौ २३ र २४ गतेको घटना छानविन गर्नका लागि बनेको जाँचबुझ आयोगमा केपी शर्मा अ‍ोलीले बयान दिनुपर्ने कुराले एमालेले केही अड्को थापिरहेको बताए । वरिष्ठ अधिवक्ता बिडारीले ओलीलाई म यो विषयमा बोल्दिनँ (राइट टू साइलेन्स) भन्ने अधिकार रहेको पनि बताए । त्यसरी मौन बसेको व्यक्तिको सम्बन्धमा आयोगले प्रमाण हेरेर प्रतिवेदनमा लेख्न सक्ने बताए ।