कांग्रेसको विशेष महाधिवेशन वैधानिक बाध्यता हो, यसको विकल्प छैनः गुरुराज घिमिरे (भिडिओसहित)


काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले समानुपातिक उम्मेदवार छनोट प्रणाली प्रजातान्त्रिक नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समानुपातिक उम्मेदवार छान्ने प्रक्रिया नेताहरुको विवेकमा निर्भर भइरहेको बताएका हुन् । निर्वाचनको मुखमा र निर्वाचन आयोगले मागेपछि हतारमा छलफल गरी तयार पारिएको नामावली वस्तुनिष्ट, तार्किक र न्यायपूर्ण नहुने बताए ।

समानुपातिकको प्रणाली अवलम्बन गरेदेखि नै विकृति सुरु भएको उनले बताए । यसपटक पनि समानुपातिक सूचीमा समावेश हुनुपर्ने नेताहरु छुटेको उनले बताए । यसबाट सही परिणाम नआउने उनको दाबी छ । महिनौं अगाडि सुरु गर्नुपर्ने काम एक रातमा तयार पारिनु न्योचित नहुने बताए ।

उनले पार्टीको नियमित महाधिवेशन पुसभित्र नहुने निश्चित देखिएको बताए । उनले आफूहरुले विशेष महाधिवेशनको हस्ताक्षर गराएर बुझाएको बताउँदै उनले अहिलेका लागि सोही प्रक्रियाबाट नेतृत्व छान्नु नै बुद्धिमानी हुने बताए । उनले अहिले विशेष महाधिवेशनका हस्ताक्षरकर्ताको बीचमा परामर्श चलिरहेको बताए । आज वडा अधिवेशन नभएपछि परामर्शलाई ठोस निचोडमा पुर्याउने तयारी रहेको उनले बताए ।

उनले विशेष महाधिवेशन वैधानिक बाध्यता रहेको र यसको विकल्प पनि नरहेको बताए । उनले भने, ‘विशेष महाधिवेशन हाम्रो वैधानिक बाध्यता हो । वकिलहरुको पनि भनाइ पार्टी विधानले प्रष्ट बुझिने गरी, व्याख्या गर्न नगर्ने गरी ४० प्रतिशतले हस्ताक्षर गराएर बुझाएपछि विशेष महाधिवेशन गर्नुको विकल्प छैन । हस्ताक्षरको आग्रहअनुसार विशेष महाधिवेशन बोलाउनुको त विकल्प नै छैन ।’