काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक रुपमा सचेत पात्रहरुलाई समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरिएको बताएका छन् । उनले अहिले समाजका सबै तह र तप्काका मान्छेको राजनीतिमा असाध्यै रुची रहेको पनि बताए । मुलुकको चिन्ताले गर्दाखेरी मोडल, कलाकार, पत्रकार, खेलाडीलगायतका पात्रहरु राजनीतिमा आएको उनले बताए ।
‘नेपाल राजनीतिक रुपमा जुन अवस्थामा गुज्रिएको छ, त्यसकारणले समाजका सबै तह, तप्का, वर्ग, पेशा र व्यवसाय भएका मान्छेहरुको राजनीतिमा अत्यन्त धेरै रुची भएको राष्ट्र हो । पेशागत रुपमा कोही कलाकार, कोही मोडल, पत्रकार खेलाडी हुनुहुन्छ होला । मुलुकको चिन्ताले गर्दा सबै अगाडि बढेको संयोग हो । भएका नामहरु राजनीतिक रुपमा सचेत नाम हो,’– उनले भने ।
‘समानुपातिक उम्मेदवारमा किन धनाड्य व्यक्ति छानेको ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले व्यापार व्यवसायको क्षेत्रबाट मात्रै ४ जनाको सहभागिता रहेको बताए । हिमाल, पहाड, तराई सबै क्षेत्रका मानिसहरुलाई समानुपातिकको बन्दसूचीमा समावेश गराइएको उनको दाबी छ ।
‘व्यापार व्यवसाय क्षेत्रका ४ जना जति साथीहरु हुनुहुन्छ । त्यस्तो केही रहेछ भने विधान विधि पनि छ । ११० जनामा १० जना जति चर्चित अनुहार देखियो होला । मधेश, हिमाल, पहाड सबैको उपस्थिति छ । जुम्लाका साथीहरुको तपाईँहरुले चर्चा गर्नुभएन,’– उनले भने ।
उनले रास्वपा विधि विधिभन्दा बाहिर कुनै पनि हालतमा नजाने बताए । समानुपातिकतर्फको बन्दसूचीमा परिवारवादको कुनै पनि प्रभाव नरहेको उनको दाबी छ । उनले कथनकदाचित विधि नाँघेर कोही मान्छे सिफारिस भएको पुष्टि भएको खण्डमा रास्वपाको विधानमा राइट टू रिकल पनि रहेको उनले बताए । समयले गर्दाखेरी अझै दुई दिन पर्खिरहेको बताउँदै उनले जायज गुनासाहरुलाई सम्बोधन गरिने बताए । रास्वपामा आफूहरुले बोक्नुपर्ने मान्छे एउटा पनि नरहेको उनले बताए ।




प्रतिक्रिया