अन्तरराष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो हुन सफल


काठमाडौँ, १६ पुस । सार्क मुलुकका खेलाडी सहभागी १७औँ अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल दोस्रो भएको छ । यसअघिको प्रतियोगितामा सबैभन्दा बढी पदक जितेको नेपालले यसपटक १८ स्वर्ण, सात कास्य र दुई रजतसहित २७ पदक जिती दोस्रो स्थान सुरक्षित गरको हो ।

नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहका ११ महिलासहित २२ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । भारतको पुनेमा सम्पन्न सो प्रतियोगितामा नेपाली टोलीको ‘अफिसियल’का रूपमा वसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहाले भूमिका निर्वाह गरेका थिए।

नेपाली खेलकुद टोलीको प्रतिनिधित्व सियानकाजी रानाले गरेको सार्कस्तरीय सो प्रतियोगितामा ४७० खेलाडीले प्रतिस्पर्धा गरेको नेपाली टोलीका अफिसियल टिमका सदस्य मिलन गाहाले जानकारी दिए ।

सो प्रतियोगिता समापनका अवसरमा गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाले क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा हुने यस किसिमका खेलकुद प्रतियोगिताले सहभागी राष्ट्रहरूबीचको भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यसैगरी महाराष्ट्र ओलम्पिक सङ्घका उपाध्यक्ष मनोज बोहरेले विजेता खेलाडीलाई पदक प्रदान गरेका थिए ।

सो प्रतियोगितामा भारतले २२ स्वर्ण, १० रजत र पाँच कास्यसहित ३७ पदक जिती पहिलो हुन सफल भएको थियो । नेपाली टोलीका अफिसियल मिलन गाहाका अनुसार श्रीलङ्का तेस्रो हुन सफल भएको दुई दिने सो प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, भुटान र बङ्गलादेशका खेलाडीहरूको सहभागिता थियो ।

जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजना तथा महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा अन्तरराष्ट्रिय खुला कराते प्रतियोगिता सम्पन्न भएको थियो । रासस