काठमाडौं । संस्कृत भाषाका विद्वान् तथा प्राध्यापक विद्यानाथ भट्टद्वारा सम्पादित दुई कृति विमोचन गरिएको छ । सोमवार विमोचित ती दुई कृति ‘व्युत्पत्तिवादः’ र ‘तन्त्रचिन्तामणि’ (उत्तरभागः) हुन् ।
नेपाल संस्कृत विश्वविद्यालय (तात्कालिक महेन्द्र संस्कृत विश्वविद्यालय)का संस्थापक शिक्षाध्यक्ष, नेसंवि, न्याय विषय समितिका र वाल्मीकि विद्यापीठ, न्याय विभागका पूर्व अध्यक्ष, पौरस्त्य दर्शनशास्त्र र तन्त्रविद्याका प्रामाणिक विद्वान् तथा विशिष्ट अनि यशस्वी साधक प्रा. विद्यानाथ उपाध्याय एवं पौरस्त्य दर्शनशास्त्रका अर्का ज्ञाता प्राध्यापक पद्मप्रसाद भट्टराईद्वारा १७औँ शताब्दीको प्रारम्भमै जन्मेर १८औँ शताब्दीको प्रारम्भतिरै दिवङ्गत हुनुभएका नव्यन्यायका विद्वान् गदाधर भट्टाचार्यले संस्कृत व्याकरणका प्रथमादेखि सप्तमीसम्मका कारकमा आधारित भएर प्रकृति, प्रत्यय अनि ती दुईको सम्बन्ध र अर्थबोध गराउने उद्देश्यले अनेकौँ प्रयोगात्मक उदाहरण दिई लेख्नुभएको ‘व्युत्पत्तिवाद’ नामक ग्रन्थको प्रथमा कारकसम्म संस्कृत र नेपाली भाषामा व्याख्या गरिएको ग्रन्थ एवम् नवमीसिंह भण्डेलद्वारा लिखित र प्राध्यापक विद्यानाथ उपाध्यायद्वारा सम्पादित ‘तन्त्रचिन्तामणि’ (उत्तरभागः) नामक ग्रन्थको नेपाल संस्कृत विश्वविद्यालयद्वारा वाल्मीकि विद्यापीठमा सोमवार आयोजित समारोहमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीबाट लोकार्पण गरियो ।
उक्त अवसरमा उहाँहरू दुवै जनालाई विश्वविद्यालयका तर्फबाट सम्मानसमेत गरियो । सो अवसरमा नेसंवि, न्याय विषय समितिको अध्यक्ष र वाल्मीकि विद्यापीठ, न्याय विभागको अध्यक्षका नाताले पौरस्त्य दर्शनशास्त्रका विशिष्ट विद्वान्, संस्कृत र नेपाली भाषाका सिद्धहस्त कवि तथा नेसंविका पूर्व उपकुलपति प्रा. शिवहरि मरहट्टा, वर्तमान उपकुलपति प्रा. धनेश्वर नेपाल, सेवा आयोगका अध्यक्ष प्रा. भागवतप्रसाद शर्मा, शिक्षाध्यक्ष प्रा. भोजराज जोशीलगायतका व्यक्तित्व उपस्थित हुनुहुन्थ्यो ।





प्रतिक्रिया