सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउन सक्छ, यही नेतृत्व सक्षम छः पूर्व प्रधानमन्त्री भट्टराई


काठमाडौं, १६ पुस । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार चुनाव गराउन सक्षम रहेको बताएका छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको नेतृत्व चुनाव गराउनका लागि सक्षम रहेको बताएका हुन् । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकराले फागुन २१ गते चुनाव गराउन सक्ने विश्वास व्यक्त गरे ।

‘चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमै चुनाव हुनुपर्छ । अन्यथा सोच्नु हुँदैन । यही नेतृत्व सक्षम छ,’ पूर्व प्रधानमन्त्री डा.भट्टराईले भने ।

पूर्व प्रधानमन्त्री डा.भट्टराईले सरकारले चुनावका लागि अठोट गर्न सरकार, सबै राजनीतिक दल र नागरिकलाई आग्रह गरे । उनले यही सरकारले निर्धारित मितिमै चुनाव सम्पन्न गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री कार्कीले आफू आजित हैरान भएँ भनेर दिएको अभिव्यक्ति मानवीय स्वभव नै रहेको बताए ।