काठमाडौं, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले दिएको धरौटी आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलले जिल्ला अदालत काठमाडौंको आदेश कानूनसम्मत रहेको ठहर गर्दै उक्त आदेश परिवर्तन गर्न नपर्ने ठहर गरेको हो ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछाने, जोशीलगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको थियो । सो मुद्दामा लामिछाने, जोशीलगायत जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए । लामिछाने, जोशीलगायतलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको थियो ।
‘जिल्ला अदालतले गरेको धरौटी आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बेरितको नदेखिँदा परिवर्तन गरिरहनु पर्ने देखिन आएन,’– उच्च अदालतको आदेशमा भनिएको छ ।




प्रतिक्रिया