पाकिस्तानी-बंगलादेशी मोडेलमा नेपाली राजनीति: बास्कोटा


काठमाडौं, पुस १८ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रतिशोधी राजनीतिले नेपालमा टुसा हालेको प्रस्ट संकेत दिन थालेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यो अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम भएको उल्लेख गरेका हुन्। उनले पाकिस्तान र पछिल्लो समय जरा गाड्दै गएको बंगलादेशी मोडेलको घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस् भन्दै चेतावनी समेत दिएका छन्।

उनले लेखेका छन्, ‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रस्ट संकेत दिन थालेका छन्। यो, अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। त्यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्।’