प्रेक्षालयसहित वडा कार्यालय भवन निर्माण


म्याग्दी, १८ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ ।

धौलागिरि गाउँपालिकाले दुईतले सभाहलसहितको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवती कन्ट्रक्सनले ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । बिहीबार भवन हस्तान्तरण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए ।

वडा भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा दान गरेका थिए । गाउँपालिकाले यसअघि मुदीमा २०८१ मा ८९ लाखको लागतमा दुईतले सातकोठे स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो । रासस