काठमाडौं, १८ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले आफ्नो पार्टीबाट समानुपातिकको बन्दसूचीमा कोही पनि पुरना र सेवा सुविधा लिएका नेताहरु नदोर्याएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता शर्माले समानुपातितर्फको बन्दसूचीमा सबै नयाँ नेताहरुलाई स्थान दिइएको बताएका हुन् ।
साथै, उनले अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धन गर्नेतर्फ आफ्नो दलले कुनै निर्णय नगरेको उनले बताए । बरु कांग्रेस र एमालेबीच गठबन्धन हुने भन्ने कुरा आफूले जानकारी पाएको पनि उनले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग आफूले राष्ट्रिय सभाका लागि गठबन्धनको प्रस्ताव राख्दासमेत अस्वीकार भएको उनले बताए ।
‘अहिले गठबन्धनको निर्णय, निष्कर्षमा हामी पुगेका छैनौं । नेपाली कांग्रेस र एमालेको बीचमा गठबन्धन हुँदैछ भन्ने कुरा मैले सुनेको छु । अहिले हाम्रो बीचमा त्यो छलफल चलेको छैन । मेरो क्षेत्र गण्डकी प्रदेशमा मैले त्यहाँका मुख्यमन्त्रीहरुसँग कुरा गरेको थिएँ । अहिले हामी त्यो दिशातर्फ छैनौं । यस पटक हामी आफ्नै बलबुतो र नयाँ पुस्ताको सहयोगमा हामी निर्वाचनमा जान्छौं । अहिले दलहरुसँग त्यो बारेमा सोचिएको छैन,’– उनले भने ।
साथै, उनले कुलमान घिसिङ, बालेन शाह र रवि लामिछाने मिलेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको विरुद्धमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी मिलेर गठबन्धन गर्ने भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । आफूहरु जनताको बलमा एक्लै निर्वाचनमा जाने पनि उनले बताए । लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचनको विकल्प नरहेको बताउँदै उनले समयमै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गरे ।
उनले अहिले वैकल्पिक शक्तिहरु एक ठाउँमा आउँदै गरेको बताउँदै नेता शर्माले कुनै पनि पार्टीलाई निषेध गरेर हामीमात्रै शासन गर्छौं भन्ने प्रवृत्ति नेपाली कम्युनिष्ट पार्टीले नराख्ने सुनाए ।




प्रतिक्रिया