विशेष महाधिवेशन गरेर गगनलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सारेर निर्वाचनमा जाने कुरामा कुनै दम छैनः कांग्रेस प्रवक्ता महत


काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विशेष महाधिवेशनको निर्णय गर्ने अधिकार केन्द्रीय समिति र कार्य सम्पादन समितिलाई मात्रै रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रवक्ता महतले महामन्त्रीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको बताएका हुन् । उनले भर्खरै समाप्त भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विशेष महाधिवेशनबारे कुनै पनि प्रस्ताव नआएको बताए ।

अहिले नियमित अधिवेशनलाई नै केन्द्रीय समितिले निर्णय गरेको बताए । नियमित अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा क्रियाशील सदस्यता भरेर आउने प्रक्रिया ढिला भएकाले तोकिएको मितिमा अधिवेशन हुन नसकेको उनले बताए । महामन्त्रीद्वयले यसको दोष अरु कसैलाई दिएर समस्याको समाधान नहुने उनले बताए । ‘क्रियाशील सदस्यता आएर टुङ्गो लागेपछि वडादेखिको अधिवेशन प्रक्रिया अगाडि बढ्छ । आज कार्य सम्पादन समितिमा पनि यो बारे छलफल हुन्छ,’– उनले भने ।

साथै, उनले विशेष महाधिवेशन गर्ने र गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेर निर्वाचनमा जाने कुरामा कुनै दम नरहेको बताए । उनले कांग्रेस एकतावद्ध भएर निर्वाचनमा गएको खण्डमा मात्रै परिणाम सोचेअनुसारको आउने बताए । आम निर्वाचनका लागि जनतामाझ जानुपर्ने बेलामा जिम्मेवार पदाधिकारीहरुले विशेष महाधिवेशनको कुरा गर्नु उपयुक्त नरहेको बताए ।

‘यसमा कुनै दम छैन । पार्टी एकतावद्ध भएर गयो भने कांग्रेसको पक्षमा परिणाम आउने हो । कुनै अनुहार देखाएर परिणाम आउने होइन । त्यो भ्रम हामी कसैले पनि नराखे हुन्छ । समानुपातिक सूची पनि सबैको सल्लाहले भएको हो । प्रत्यक्षतर्फ पनि सिफारिस भएर आएको छ । आम निर्वाचनमा जानताको बीचमा जाने, यस्तो बेलामा विशेष अधिवेशनको कुरा जिम्मेवार तहमा रहेकाहरुले त्यो गर्न मिल्दैन,’– उनले भने ।