राष्ट्रिय सभा निर्वाचन एक्लाएक्लै लड्दा कांग्रेसलाई अत्याधिक फाइदा, नेकपाको जित शून्य


काठमाडौं, १८ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक व्यवस्था रहेको छ । सातवटै प्रदेशमा ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ मतदाता रहेका छन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको वर्चश्व रहेको छ । यसपटकको राष्ट्रिय सभा निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा हुने हो भने कांग्रेस अत्याधिक सिटमा विजयी हुने निश्चित छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमध्ये १८ सिटमा प्रतिस्पर्धा हुनेछ । एक सिटमा भने राष्ट्रपतिले मनोनित गर्नेछन् ।

एक्लाएक्लै चुनाव लड्ने हो भने मधेश प्रदेशमा कांग्रेस ३ हजार १ सय ४ मत सहित अगाडि रहेको छ । त्यसपछि दोस्रोमा २ हजार ४ सय ८ मतसहित एमाले र तेस्रोमा १ हजार ९ सय २३ मतसहित जसपा नेपाल रहेको छ । मधेशमा मतभारको हिसाबमा चौथो दल नेपाली कम्युनिष्ट पार्टी रहेको छ । एक्लाएक्लै प्रतिस्पर्धा भएको खण्डमा मधेशबाट कांग्रेसले ४ वटै सिटमा जित हासिल गर्ने निश्चित छ ।

त्यस्तै, बागमतीमा कांग्रेसको मतभार ४ हजार १३ रहेको छ । दोस्रोमा नेपाली कम्युनिष्ट पार्टीको मतभार २ हजार ७ सय ३८ रहेको छ । तेस्रोमा नेकपा (एमाले) रहेको छ । बागमतीमा एमालेको मतभार २ हजार ५ सय ७१ रहेको छ । एक्लाएक्लै प्रतिस्र्धा हुँदा बागमतीमा पनि कांग्रेसका लागि २ सिट सुनिश्चित छ ।

त्यस्तै, गण्डकीमा कांग्रेसको मतभार २ हजार ७ सय ४ रहेको छ । यहाँ दोस्रोमा एमाले २ हजार ४ सय ५८ मत र तेस्रोमा नेपाली कम्युनिष्ट पार्टी १ हजार १३ मतभार रहेको छ । कुनै दलबीच गठबन्धन नहुँदा यहाँ पनि कांग्रेसले २ सिट जित्ने निश्चित छ ।

लुम्बिनीमा कांग्रेसको मतभार ३ हजार १ सय ७९ रहेको छ । यहाँ एमाले दोस्रो स्थानमा २ हजार ८ सय १० मतसहित र नेपाली कम्युनिष्ट पार्टी १ हजार ३ सय ९६ मतभारसहित तेस्रो स्थानमा रहेको छ । एक्लाएक्लै प्रतिस्पर्धा भएको खण्डमा लुम्बिनीबाट पनि कांग्रेसले ३ सिट जित्ने निश्चित छ ।

कर्णालीमा कांग्रेसका मतभार १ हजार ८ सय ६३ रहेको छ । दोस्रोमा यहाँ नेपाली कम्युनिष्ट पार्टी रहेको छ । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टीको मतभार १ हजार ८ सय ४४ रहेको छ । यहाँ कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच झिनो मतान्तर रहेको छ । तेस्रोमा भने एमाले रहेको छ । एमालेको मतभार १ हजार १ सय ९५ रहेको छ । एक्लाएक्लै निर्वाचन लड्दा पनि यहाँ कांग्रेस केही मतले अगाडि नै रहेको छ । कांग्रेसका सबै सदस्यहरु मतदानमा सहभागी भएको खण्डमा यहाँबाट पनि २ सिट जित्ने सम्भावना देखिएको छ ।

सुदूरपश्चिममा पनि कांग्रेसको २ हजार ५ सय ५८ मतसहित पहिलो स्थानमा रहेको छ । सुदूरमा एमाले १ हजार ५ सय ३३ मतसहित दोस्रो स्थानमा र नेपाली कम्युनिस्ट पार्टीको १ हजार ३ सय ६५ मतभारसहित तेस्रो स्थानमा रहेको छ । यहाँ पनि एक्लाएक्लै निर्वाचन लड्दा कांग्रेसले २ सिट जित्ने निश्चित छ ।

कोशी प्रदेशमा भने एमाले बलियो रहेको छ । एक्लाएक्लै प्रतिस्प्रर्धा हुँदा कोशीमा भने एमालेले जित हासिल गर्ने देखिन्छ । कोशीमा एमालेको ४ हजार २ सय १० मतभार रहेको छ । कोशीमा दोस्रोमा ३ हजार ७ सय २२ मतभारसहित कांग्रेस र तेस्रोमा १ हजार ६ सय २३ मतसहित नेपाली कम्युनिष्ट पार्टी रहेको छ । एक्लाएक्लै निर्वाचन लड्दा यो प्रदेशमा एमालेले ३ सिट जित्ने निश्चित छ ।