व्यक्तिगत रिसिबीका कारण साथीमाथि दाउ प्रहार, १८ वर्षीय विक पक्राउ


काठमाडौं, १८ पुस । काठमाडौँको टोखा नगरपालिकास्थित मासु पसलमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकलीका २१ वर्षीय शैलेश खत्रीमाथि दाउ प्रहार गरेर घाइते बनाउने मनोज विक पक्राउ परेका छन् । सल्यानका अन्दाजी १८ वर्षीय मनोज विकलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

घटना गत पुस १४ गते राति करिब १० बजेको हो । पक्राउ परेका विकले व्यक्तिगत रिसिबीका कारण आवेगमा आएर साथीमाथि दाउ प्रहार गरेको बयानमा खुलाएको प्रहरीले बताएको छ ।

आरोपी विकविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दाउ प्रहारबाट घाइते खत्रीको निधारदेखि नाक र ओठसम्म गहिरो चोट लागेको छ । उनको हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।