काठमाडौं, १८ पुष । उज्यालो नेपाल पार्टी खोलेर २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा होमिएका बहालवाला उर्जामन्त्री कुलमान घिसिङ एक साता नबित्दै असन्तुष्ट बनेका छन् । रास्वपाका सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा रास्वपाले अघि सारेको काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच एकता भएपछि कुलमानलाई पनि रास्वपामा समाहित गरिएको थियो ।
सुरुमा कुलमानले सम्मानलाई दाउमा राखेर कसैसँगपनि आत्मसमर्पण नगर्ने बताउँदै आएका थिए । तर, हामी नेपालीका संयोजक सुदन गुरुङको जोडबलमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समयमा कुलमान पनि रास्वपामा प्रवेश गरेका थिए । उनलाई रास्वपामा पहिलो वरियताको उपसभापति दिईएको छ । कुलमान रास्वपामा विलय भएपछि उनलाई पार्टी खोल्नको लागि साथ दिएका थुप्रै राम्रा नेताहरुले साथ छोड्ने तयारी गरेका छन् ।
कतिपय पहिचानवादी नेताले त एकता प्रक्रियालाई नै साथ नदिएको बताईन्छ । कुलमानले यो विषयमा रास्वपाका सभापति लामिछाने र बालेनसँग छलफल गरेका थिए । उनले रास्वपाले पहिचानको पक्षमा लिनुपर्ने अडानको विषयमा जिज्ञासा राखेको बताईन्छ । यसबारेमा लामिछाने र शाहले स्पष्ट जवाफ नदिएपछि उनले आज आफ्नो टिममा रहेका नेताहरुलाई निर्वाचन आयोगमा समानुपातिकतर्फको छुट्टै सूची बुझाउनेबारे मिल्ने वा नमिल्नेबारे बुझ्न पठाएका थिए ।
किनकी उनेपाले बन्दसूची बुझाउनको लागि पुष १४ गते छुट्टै निसा लिएको थियो । त्यहीभएर उज्यालो नेपाल पार्टीका नेताहरु आज आयोग पुगेका हुन् । कुलमानले रास्वपामा १४ जनाको नाम समावेश गराएका छन् । तर, यीमध्ये दलित कोटाबाट महिलामा रिमा विश्वकर्माबाहेक सांसद बन्ने सुनिश्चित्ता नदेखिएको पनि कुलमानको टिमले आँकलन गरेको छ। १६५ निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचनमा पनि सम्मानजनक सिट र जित्ने क्षेत्र नपाउने स्थिति आए कुलमान आफ्नै तवरले अघि बढ्ने उनीनिकट स्रोतको दाबी छ ।




प्रतिक्रिया