विशेष महाधिवेशनले कांग्रेस विभाजन गराउँदैन, विभाजन गराएभने देउवा पक्षधरले गराउँछन्ः सुवास पोखरेल (भिडिओसहित)


काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका नेता सुवास पोखरेलले विशेष महाधिवेशनले पार्टी नफुट्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब विशेष महाधिवेशनको पक्षमा रहेका ५४ प्रतिशतको बहुमतले निर्णय गर्ने बताएका हुन् । उनले पार्टी फुटाए अल्पसंख्यक (सभापति शेरबहादुर देउवा पक्षधर) ले फुटाउने बताए ।

‘कांग्रेस फुटेको छैन । कांग्रेसका विचारको व्यापक विनियम भइरहेको छ । कुतर्कशास्त्रीहरुसँग मेरो भन्नु केही छैन । विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन । ५४ प्रतिशत बहुमतले निर्णय गर्छ । फुटाउँदैनन् । फुटाए अल्पसंख्यकले फुटाउँछ, बहुमतले फुटाउँछ ?’ प्रश्न गर्दै उनले भने ।

उनले सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुलाई लुर नभएका र देउवाको आडमा खान पल्किएका मान्छेको संज्ञा दिए । देउवाको आडमा खान पल्किएका मान्छेहरु प्रतिस्पर्धाबाट डराएर विशेष महाधिवेशनले पार्टी विभाजन गर्छ भनिरहेको नेता पोखरेलले बताए ।

‘लुर नभएका, शेरबहादुरका आडमा खान पल्किएका मान्छेहरुको मकसद हो त्यो । शेरबहादुर देउवालाई कांग्रेसभित्र विवाद र विभाजन गराउँदा के फाइदा छ आजको दिनमा ? उहाँ त दुई चार महिनापछि जाने नै हो । छोडेर जाने मान्छेले यो काम गर्छ । शेरबहादुर सभापतिमा नहुँदैगर्दा धेरै मान्छेहरु प्रतिस्पर्धा गर्न सक्दैनन्, तिनको डर हो । त्यो डरमा सभापति देउवा तानिन हुँदैन,’– उनले भने ।