काठमाडौं, १९ पुस । नेपाली कांग्रेस, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सिंगो पार्टी एक ढिक्का रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी फुटको तर्फ जान्छ भनेर बढाइचढाइ गर्नु ठीक नहुने बताए । विशेष महाधिवेशनको पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा स्वयं पनि पार्टी एक ढिक्का हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । विशेष महाधिवेशन नेतृत्व बदल्नका लागि मात्रै नभएको उनले बताए । अहिले पनि सभापति शेरबहादुर देउवाले कार्यवाहक दिइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता नरहेको बताए ।
नेता विश्वकर्माले कांग्रेसको केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेको खण्डमा मात्रै विशेष महाधिवेशन हुने बताए । टाउकोमात्रै परिवर्तन गरेर पार्टी रुपान्तरण नहुने र वडादेखि केन्द्रसम्म नै अधिवेशन हुन जरुरी रहेको उनले बताए । नेता विश्वकर्माले अहिले आफूहरुको समस्या कृयाशील सदस्यता नवीकरण र वितरण नसकिनु रहेको बताए । क्रियाशील सदस्यता नटुङ्गिएको अवस्थामा आफूहरु फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनको चेपुवामा परेको उनले बताए । अहिले पार्टीको महाधिवशेन भन्दा पनि आसन्न फागुन २१ गतेको निर्वाचनको तयारी गर्न आवश्यक रहेको बताए ।
निर्वाचनमा नयाँ नीति, नयाँ विचार र नयाँ नेतृत्व लिएर जाउँ भन्ने आफूहरुलाई लागेको भए पनि नभ्याएको उनले बताए । फागुन २१ गतेको निर्वाचनपछि पार्टीको १५औं महाधिवेशनको काम द्रुत गतिमा अगाडि बढ्ने २०८३ साल वैशाखको अन्तिम हप्तामा महाधिवेशन हुने उनले बताए ।
‘पार्टी निर्वाचनमा जाँदैगर्दा केही सन्देश र नारा लिएर जानुपर्छ । हामीले घोषणापत्र बनाउनुपर्छ । कुनै कोठामा लेख्ने होइन, त्यसरी लेखेको घोषणा पत्र काम लाग्दैन । यही नेतृत्व र यही नीतिले निर्वाचनमा गयौं भने परिवेश राम्रो छैन भन्ने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भनाइ हो । नेतृत्वको बारेमा सभापतिले कार्यवाहक दिएसक्नु भएको छ । पार्टीले आफ्नो नीति परिवर्तन गर्छ । हामी चुनावमा थप उत्साहको साथ जान्छौं,’– नेता विश्वकर्माले भने ।
उनले अहिले विशेष महाधिवेशनको आवश्यकता नरहेको बताए । विशेष भेला गरेर नीतिमा पनि परिवर्तन गर्न सकिने उनले बताए । विशेष भेलाको बारेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सहमत रहेको उनको दाबी छ । विशेष भन्ने शब्दमा कसैलाई आपत्ति रहेको खण्डमा राष्ट्रिय भेला भनेर पनि बोलाउन सकिने उनले बताए ।




प्रतिक्रिया