काठमाडौं, १९ पुुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल बनाउन रास्वपाबाहेक अरुबाट सम्भव नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल बनाउनका लागि संविधान र कानूनका विविध पक्षहरुमा संशोधन आवश्यक रहेको बताएका हुन् । उनले अब बुढा भएका नेताहरुले सत्ता छाड्नुपर्ने बताए । उनले अब विधिको शासन, नियम, कानूनलाई मान्दिनँ भन्ने कसैलाई पनि छुट नरहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचुबुझ आयोगमा बयान दिन जान सुझाए । उनले नेपाली नागरिकलाई नहेप्न ओलीलाई चेतावनीसमेत दिए ।
उनले भने, ‘केपी ओली नजानुपर्ने कारण के छ ? केपी ओलीका लागि यो संविधानमा छुट्टै व्यवस्था छ । नागरिक मार्नुछ, बयान दिन आउनुस् न भनेर आयोगले बोलाएको हो । हामीले मतदान गरेको व्यक्तिले विधि, नियम, पद्धति मानोस् भन्ने थियो । म झापा ५ बासी भएकाले यो मेरो अधिकार हो । विश्वमा रहेकाहरुले भनौं– खड्ग प्रसाद ओलीज्यू जे भएको थियो, गएर बयान दिनुस् ।’
नेपाली जनताले फ्याँकेका ओलीलाई एमालेले ११औं महाधिवेशनबाट फेरि बोकेको भन्दै उनले आपत्ति जनाए । ‘नेपाली जनताले फ्याँकेको व्यक्ति बोकेर हिँड्दा नेता भइन्छ भन्ने कसैलाई लाग्छ भने त्यो दिवास्वपना हो,’– उनले भने ।
ओलीको निरङ्कुशतावादमा यो देशको प्रगति सम्भव नरहेको उनले बताए । ओलीले देशकै लागि बेइमानी गरेको बताए । नेता न्यौपानेले झापा निर्वाचन क्षेत्र ५ वासीहरुमाथि पनि ओलीले घोर अन्याय गरेको बताए । अनाकन्टर कुनामा लगेर विशाल टावर बनाएको र ओलीले त्यसैलाई विकास देखेको उनको टिप्पणी छ ।
उनले ‘देशको संविधान, नीति, विधि, कानून मान्दिनँ’ भन्ने ओलीको नेतृत्वमा नबस्न उनले आग्रह गरे । एमालेको भविष्य देख्न चाहने हो भने ओलीलाई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगमा बुझाउन उनले एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
नेता न्यौपानेले विकल्प र यो देशको परिवर्तन चाहने एमालेभित्रका नेताहरुलाई रास्वपामा आउन आग्रह गरे । उनले ओली व्यक्ति नभएर प्रवृत्ति रहेको बताए । उनले ओली लोकतन्त्र र विधिको शासनको खिल्ली उडाने पात्र रहेको बताए । ओलीजस्ता प्रवृत्ति र कानूनविरोधी शक्तिहरु अपदस्त हुनुपर्ने उनको भनाइ छ । नेपालको भाग्य भविष्यको लागि असर गर्ने त्यो प्रवृत्तिलाई नेपालको कानूनलाई जिम्मा लगाउन आवश्यक रहेको नेता न्यौपानेले बताए ।
ओलीलाई उनले नागरिकलाई नागरिकको दर्जामा नराख्ने व्यक्तिको संज्ञा दिए । ओलीको विरुद्धमा झापा क्षेत्र नम्बर ५ का सुकुम्बासी, भूमिविहीनहरु रहेको उनले बताए । झापा क्षेत्र नम्बर ५ का भूमिविहीन र सुकुम्बासीहरुसमेत ओलीको विरुद्धमा रहेको उनको दाबी छ । उनले आफूले झापा ५ का सुकुम्बासी र भूमिविहीनको नामबाट आफू सर्वोच्च अदालतमा मुद्दा लड्न पनि तयार रहेको बताए ।
ओलीको कारण झापा ५ का करिब १४ सय घर धुरी घरजग्गा विहीन हुनुपरेको उनले बताए । अधिवक्ता न्यौपानेले निर्वाचन भाँड्ने षड्यन्त्रसमेत गरिराखेको दाबी गरे । अन्ततः अब निर्वाचन हुने दिन आइरहेको बताए । उनले राष्ट्रिय सभाको निर्वाचन रोकेर आगामी फागुन २१ गतेपछि गर्नुपर्ने बताए । राष्ट्रिय सभा फ्याँक्ने कि राख्ने भन्ने निर्णय फागुन २१ गतेको निर्वाचनपछि आफूहरुले गर्ने उनले बताए ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन हुने चर्चा आफूहरुले सुनिरहेको उनले बताए । प्रतिनिधिसभा कांग्रेसले ८३ र एमालेले ८२ सिट लिनेगरी गृहकार्य भइरहेको उनले बताए । उनले भने, ‘८३ सिट कांग्रेसले लिने, ८२ सिट एमालेले लिने । देशभरी हामी एक ठाउँ भएर जाउँ भनेर उहाँहरुले सुरु गरेको मैले थाहा पाउँदै छु । तर, अब नेपाली नागरिकले तपाईँहरुलाई मत दिँदैनन् । कांग्रेस, एमालेभित्र रहेका युवा पुस्ताले हेक्का राख्नुस् ।’




प्रतिक्रिया