झापा-५ मा ओलीसँग चुनाव लड्ने रास्वपाका चर्चित वकिल न्यौपानेको उद्घोष


काठमाडौं, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं चर्चित अधिवक्ता यज्ञमणि न्यौपानेले झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले झापा क्षेत्र नं. ५ का जनताले चुनाव लड्न बोलाएको खण्डमा आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् ।

‘मैले निर्वाचन लड्ने भनेको झापा क्षेत्र नम्बर ५ बासीको इच्छाले हो । झापा क्षेत्र नम्बर ५ बासीहरुले ‘तपाईँ निर्वाचन लड्नुस्, खुट्टा नकमाउनुस्, हामी छौं’ भन्नुभयो भने मैले निर्वाचन नलड्नुपर्ने कुनै अयोग्यता छैन । म झापा क्षेत्र नम्बर ५ का नागरिकलाई सोध्छु,’– उनले भने ।