काठमाडौं, १९ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर कुँवरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र कुलमान घिसिङ मिल्दैमा लामो इतिहास भएका राजनीतिक दलहरु डराउन नपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेन, रवि र कुलमान एक भएर आएकोमा आफूहरुको शुभकामना रहेको बताए ।
‘रविजीको स्वतन्त्र पार्टी, बालेनजी भर्खर काठमाडौंको मेयर भएको मान्छे, कुलमानजी प्रशासक न हो उहाँ । उहाँहरु मिल्दैमा यति लामो राजनीतिक इतिहास भएका नेपालका राजनीतिक दलहरु डराउनुपर्दैन । उहाँहरु एक भएर आउनुस् हाम्रो शुभकामना छ,’– उनले भने ।
नेता कुवँरले आगामी निर्वाचनम जाँदा शिरमा देश राखेर जान आग्रह गरे । उनले कसैको गोटी भएर र कसैबाट सञ्चालित भएर निर्वाचनमा नजान आग्रह गरे । अहिले अनेकखाले आशंकाहरु आइरहेको बताउँदै ती आशंकालाई मेटाउनेगरी निर्वाचनको तयारी गर्न सबै दललाई आग्रह गरे ।
उनले राजनीतिक दलहरुको बीचमा सहमति हुने, राजनीतिक दलको बीचमा गठबन्धन हुने कि नहुने प्राविधिक विषय रहेको बताए । उनले त्यो आवश्यकताको सिद्धान्तमा आधारित हुने र आवश्यकता पर्यो भने चुनावी गठबन्धन हुन पनि सक्ने बताए । उनले एमालेसँग तत्काल एकता सम्भव नरहेको र कहिल्यै एकता हुँदैन भन्न पनि नसकिने उनले बताए । ‘आवश्यकताको सिद्धान्त भनेको सबैलाई अनुभूति भयो भने निर्वाचनमा मिल्न सकिन्छ,’– उनले भने ।




प्रतिक्रिया