काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टी विशेष महाधिवेशनको बाटोबाट भन्दा फरक बाटो हिँड्न नसक्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन हुनुपर्ने बताएका हुन् । विधानको बाटो अबलम्बन नगर्ने हो भने कांग्रेसलाई लोकतान्त्रिक दल भन्न नमिल्ने बताए । उनले पुस २७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने बताए ।
‘नेपाली कांग्रेस पार्टी विशेष महाधिवेशनको बाटोबाट भन्दा फरक बाटो हिँड्न सक्दैन । किन भने कांग्रेसको विधानको व्यवस्थाअनुसार विधानको सर्वोच्चता, व्यक्तिभन्दा विधानको सर्वोच्चता अंगिकार गरेको हुन्छ । विधान अंगिकार नगर्ने हो भने लोकतान्त्रिक पार्टी भन्न सकिँदैन । विशेष महाधिवेशनका लागि हामीले देशैभरीका साथीहरुलाई आह्वान गरिसकेका छौं । पुस २७ गते काठमाडौंको यही भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन हुन्छ,’– उनले भने ।
कांग्रेसको नियमित महाधिवेशन आगामी २०८३ वैशाखसम्म नभएसम्मका लागि त्यसले गर्ने निर्णय नै कांग्रेसको अन्तिम निर्णय हुने उनले बताए । नेता रसाइलीले कांग्रेसले कुनै पार्टीसँग चुनावी तालमेल गर्नेबारे आधिकारिक रुपमा समीकरण बनाएर जाने भन्ने छलफल र बहसको विषय नबनेको बताए । राष्ट्रिय सभामा भने यो पटक एमाले वा नेपाली कम्युनिष्ट पार्टीसँग गठबन्धन हुने उनले बताए ।
‘हामीले गठबन्धन गर्नुपर्ने बाध्यता हो । अहिले गठबन्धन गर्ने कुरा चाहिँ राष्ट्रिय सभाको बारेमा छलफल भएको हो । प्रतिनिधिसभाको निर्वाचनमा भने हामी गठबन्धन गरेर जान दिँदैनौं । हाम्रो तयारी पनि छैन,’– उनले भने ।




प्रतिक्रिया