चुनावी गठबन्धनबारे देउवा, ओली र प्रचण्डबीच छलफल


काठमाडौं, १९ पुस । आसन्न राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनलाई लिएर विभिन्न दलहरुबीच चुनावी तालमेलको चर्चा भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमामडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक एवं बहालवाला मन्त्री कुलमान घिसिङबीच भएको सहमतिले नेपाली राजनीतिमा भुइँचलो ल्याइदिएको छ । रवि, बालेन र कुलमानबीच भएको एकताको विरुद्धमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी गठबन्धन गर्न सक्ने धेरैको अड्कलबाजी छ ।

यसको प्रयासस्वरुप कांग्रेस सभापति शेरबहादुर देउवाले रमेश लेखकलाई दूत बनाएर एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पठाएको बताइएको छ । ओली र प्रचण्डले पनि चुनावी तालमेलको देउवाको प्रस्तावमा सकारात्मक संकेत दिएको स्रोतको दाबी छ । यता कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि चुनावी तीन दलबीच चुनावी तालमेल हुनेबारेमा देउवा, ओली र प्रचण्डबीच अनौपचारिक छलफल भएको स्वीकार गर्छन् । नागरिकको अधिकार स्थापित गरेर, विधि, मूल्य र मान्यतामा हिँडेका दलहरुमाथि अहिले चौतर्फी आक्रमण भइरहेको र विदेशी षड्यन्त्र सल्बलाइरहेको अवस्थामा देउवा, ओली र प्रचण्ड मिल्नसक्ने नेता विश्वकर्माले बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलाले ‘संसदीय निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गर्न लागेको हो ?’ भनी गरेकाे प्रश्नमा उनले भने, ‘हाम्रो अहिले कसैसँग पनि प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन हुँदैन । हुने विषयमा छलफल भएको छैन । तर, बजारमा केही पनि प्रश्न उठेको छैन भन्ने होइन । अहिले संविधानमाथि, व्यवस्थामाथि, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आक्रमण छ । यो देशमा ८० वर्षसम्म संर्घ गरेर नागरिक अधिकार स्थापित गरेर विधि, मूल्य र मान्यतामा हिँडेका दलहरुमाथि र व्यवस्थामाथि चौतर्फी आक्रमण भएको, विदेशी षड्यन्त्रहरु सल्बलाइरहेको हुनाले यसको विरुद्ध एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश चाहिँ जीवित नै छ । त्यो सन्देशका आधारमा भोलि नयाँ शिराबाट राजनीति सुरु गर्न सकिन्छ । उम्मेदवारी दिन पनि सकिन्छ । तर, अहिले सिधा गठबन्धन गरेर जनताको बीचमा जाने भन्ने कुराले औपचारिकता पाएको छैन ।’

नेता विश्वकर्माले देउवा, ओली र प्रचण्डबीच ‘हामीमाथि आक्रमण भयो । हामी एक्लाएक्लै लड्यौं भने व्यवस्थामाथि पनि खतरा हुन सक्छ’ भन्ने तबरबाट छलफल अगाडि बढेको बताए । नेपालको राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेहरु, जलेको बेलामा दमकल नपठाउनेहरु, नेताहरुको निजी सम्पत्ति, कर्पोरेट हाउसमाथि आगो लगाउनेहरु, समग्रमा देश जलाउनेहरु र देश बनाउनेहरुमा कित्ताकाट भएको बताए । यस्तो बेलामा देउवा, ओली र प्रचण्डले चुनावी गठबन्धनको निर्णय नगर्लान् भन्न नसकिने उनले बताए । उनले सहकार्य हुन सक्ने सम्भावना जीवित नै रहेको दाबी गरे ।