रास्वपाको समायोजन घोषणा कार्यक्रम भोलि, कुलमान र बालेन पनि औपचारिक रुपमा प्रवेश गर्दै


काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक समायोजन घोषणा सभाको आयोजना गरेको छ । रास्वपाले भोलि (सोमबार) राष्ट्रियसभा गृहमा समायोजन घोषणा कार्यक्रम गर्न लागेको हो ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका रुपन्देही जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिएका अध्यक्ष तुल्सी थारुले पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत अघि बढेको महसुस भएकाले राजीनामा दिएर रास्वपामा प्रवेश गर्न लागेको बताए । भोलि हुने रास्वपाको समायोजना घोषणा कार्यक्रममा उनीहरुलाई पनि स्वागत गरिने बताइएको छ ।

त्यसैगरी, यसअघि रास्वपा र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री रहेका उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङसँग सम्झौता गरेको थियो ।

कुलमानलाई रास्वपाको उपाध्यक्ष बनाउने र बालेनलाई आगामी प्रतिनिधिसभाको निर्वाचन पछिको प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि बढाउने सहमति भएको छ ।

यद्यपि कुलमान र बालेन औपचारिक रुपमा रास्वपामा प्रवेश गरेका छैनन् । भोलिको समायोजना घोषणा कार्यक्रममा बालेन र कुलमानको पनि सहभागिता रहने अनुमान गरिएको छ ।