कङ्गो, किन्शासा, २० पुस । अफ्रिकी देश कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्रमा भएको ड्रोन आक्रमणसम्बन्धी समाचारप्रति संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले गम्भीर चासो व्यक्त गरेको छ ।
कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन प्रमुख मोनुस्कोले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने सबै प्रकारका आक्रमणको कडा निन्दा गरेका छन् । उक्त क्षेत्रमा सरकारी सुरक्षा बल र ‘एम–२३’ आन्दोलन नामक विद्रोही समूह बीच भीषण झडप भइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मिसनले सबै पक्षलाई युद्धविरामको कडाइका साथ पालना गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न तथा कूटनीतिक पहलमार्फत सम्पन्न शान्ति सम्झौताहरू कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्थाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, आवासीय क्षेत्रमा भएको हवाई आक्रमणपछि अस्पतालमा महिला तथा बालबालिकासहित ४२ जना घाइते भर्ना गरिएका थिए । उपचारका क्रममा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
मासिसी क्षेत्र पूर्वी कङ्गोमा द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक मानिन्छ । पछिल्लो ड्रोन आक्रमणको घटना गत साता ‘एम–२३’ विद्रोही समूह, कङ्गो सेना तथा तिनका समर्थकबीच झडप भएको हो ।
उभिरा रणनीतिक महत्त्वको सहर हो, जसलाई ‘एम–२३’ समूहले सन् २०२५ देखि छोटो समयका लागि नियन्त्रणमा लिएको थियो र एक सातापछि फिर्ता भएको दाबी गरेको थियो ।
पूर्वी कङ्गो विगत धेरै दशकदेखि निरन्तर हिंसाबाट ग्रसित रहँदै आएको छ । सन् २०२१ को अन्त्यदेखि ‘एम–२३’ विद्रोह पुनः सक्रिय भएपछि अवस्था अझै जटिल बनेको छ । कङ्गो सरकारले छिमेकी रुवान्डाले विद्रोही समूहलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ, तर रुवान्डाले ती आरोपहरू अस्वीकार गर्दै आएको छ । रासस




प्रतिक्रिया