कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


काठमाडौं, २० पुस । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि (सोमबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय वी.पी.स्मृति भवन सानेपामा बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि भनिएको छ । कांग्रेसमा हाल विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन भन्ने विषयमा चर्को विवाद कायम रहेको छ । संस्थापन समूह आगामी २०८३ को वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा छ भने इतर समूह यही पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए । कांग्रेसको विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिबाट विधान महाधिवेशनको माग भएमा ३ महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।