गगन-विश्वलाई वरिष्ठ अधिवक्ता खनालको रायः विशेष महाधिवेशन गर्नुस्, नत्र कारबाहीमा पर्नुहोला


काठमाडौं, २० पुस । वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच शनिबार विशेष महाधिवेशन गर्नेबारे छलफल भएको छ । उनीहरुबीच भएको छलफलमा वरिष्ठ अधिवक्ता खनालले विशेष महाधिवेशनको पक्षमा अगाडि बढ्न सुझाव दिएका छन् ।

वरिष्ठ अधिवक्ता खनालले महामन्त्रीको मातहतमा रहेको केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउन सक्ने पनि बताए । केन्द्रीय समितिको अलवा विशेष महाधिवेशन बोलाउने अधिकार, जिम्मेवारी र कर्तव्य महामन्त्रीद्वयको रहेको वरिष्ठ अधिवक्ता खनालको जिकिर छ । महामन्त्रीद्वय थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागबमोजिम निर्धारित समयमा विशेष महाधिवेशन नबोलाएमा निर्वाचन आयोगले कारबाहीस्वरुप जरिवाना गर्न सक्ने भन्दै सचेतसमेत गराएका छन् ।

महामन्त्रीद्वयलाई भेट्दा आफूले दिएको रायबारे कुरा गर्दै वरिष्ठ अधिवक्ता खनालले भने, ‘विशेष महाधिवेशन केन्द्रले पनि बोलाउन सक्छ । केन्द्र भनेको महामन्त्रीहरुको मातहतमा रहन्छ । त्यसले गर्दा यो बोलाउने अधिकार, जिम्मेवारी र कर्तव्य तपाईँहरुको हो । विशेष महाधिवेशन बोलाउनै पर्छ । यदि बोलाउनुभएन भने राजनीतिक दलसम्बन्धी ऐनअन्तर्गत विशेष महाधिवेशन बोलाउने हस्ताक्षर कर्ताहरुले निर्वाचन आयोगमा उजुरी दिएमा आयोगले विशेष महाधिवेशन बोलाउन निर्देशन दिन पनि सक्छ । यदि निर्देशन मानेन भने ५ हजारसम्म जरिवाना पनि गर्न सक्छ ।’