ओलीलाई कार्की आयोगको पत्रः ‘बयानका लागि कार्यालयमा उपस्थित हुनु’


काठमाडौं, २० पुस । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगले बयानका लागि कार्यालयमा उपस्थित हुन भन्दै पत्र काटेको छ ।

आयोग स्रोतका अनुसार ओलीलाई बयानका लागि कार्यालयमा उपस्थित हुनका लागि भनिएको छ । आयोगले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा सरोकारवाला अधिकांश व्यक्तिहरुसँग बयान लिइसकेको छ ।

यसअघि नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका तत्कालीन आइजीपी चन्द्रकुबेर खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका व्यक्तिहरुले आयोगमा पुगेर भदौ २३ र २४ गतेको घटनाको सन्दर्भमा बयान दिइसकेका छन् ।

यद्यपि एमाले अध्यक्ष ओलीले भने आफूु आयोगमा बयान दिनका लागि नजाने बताउँदै आएका छन् । ओली सार्वजनिक रुपमै आयोगलाई असंवैधानिक भनेका छन् । असंवैधानिक आयोगमा उपस्थित भएर आफू बयान नदिने ओलीको अडान रहेको छ । आयोगले ओलीलाई पत्र काटेसँग अब ओली बयानका लागि आयोगको कार्यालयमा जान्छन् कि जाँदैनन् भन्ने कुरा चासोको विषय बनेको छ ।