पशुपतिनाथलाई सम्झिँदै रास्वपामा जोडिए सागर ढकाल, २५ वर्षमा सम्पन्न नेपाल बनाउने उद्देश्य


काठमाडौं, २० पुष । सामाजिक अभियन्ता र स्वतन्त्र युवा राजनीतिज्ञको छवि बनाएका सागर ढकाल रवि लामिछाने नेतृत्वको रास्वपामा जोडिएका छन् । उनी आज रास्वपाको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । उनले रास्वपामा प्रवेश गर्नेबित्तिकै उनले फेशबुकमार्फत आफ्नो धारणासमेत सार्वजनिक गरेका छन् । जसमार्फत उनले अबको २५ वर्षमा नातिनातिनीहरुलाई एक सुन्दर र सम्पन्न नेपाल बनाउने उद्देश्यका साथि अगाडि बढ्ने प्रण गरेका छन् । उनले देशको कायापलट गर्नुपर्ने भन्दै त्यसकोलागि समय नभएको भन्दै सबैले मिलेर काम गर्नुपर्ने सुझाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

आज जिन्दगीमा पहिलोपल्ट मनमा पशुपतिनाथलाई सम्झँदै पार्टीमा जोडिएको छु, रास्वपामा जोडिएको छु। कालो अँध्यारो कोठामा पनि भगवानको बास हुन्छ भन्ने विश्वास गर्छु। जानाजान गल्ती गर्ने छैन। सकेको प्रयास गर्नेछु। अबका २५ वर्षमा नातिनातिनाहरूलाई एक सुन्दर, सम्पन्न नेपाल बनाउने उद्देश्यका साथ अगाडि बढ्नेछु। अब ठुलो सोचका साथ आगामी पुस्ताहरु र मेरो देश भनेर सोच्नुपर्नेछ। देशको कायापलट गर्नुपर्नेछ। सजिलो छैन र समय छैन, आउनुहोस् मिलेर गरौँ।