कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


काठमाडौं, पुस २१ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ। महाधिवेशनसम्बन्धी जारी विवादका बीच आजको बैठक महत्वपूर्ण मानिएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो।

उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति म्याद आगामी जेठ मसान्तसम्म थपेको थियो । केन्द्रीय कार्य समितिसहित सबै समितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा गरेका थिए । शुक्रबारको बैठकमा उक्त प्रस्ताव पारित भएको थियो ।

कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले १५ औँ महाधिवेशन स्थगित गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशनको विकल्पमा अगाडी बढेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।

बैठकअघि दुबै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका छन। संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयले चुनाव अघि महाधिवेशन सम्भव नरहेको बताइरहेका छन भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् ।