युक्रेनले दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका तीन विमानस्थल बन्द


मस्को, पुस २१ । युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् । रुसी सञ्चारमाध्यमका अनुसार यी आक्रमणका कारण मस्कोको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल भनुकोभोलगायतका अन्य दुई विमानस्थलमा कैयौँ उडानहरू ढिलाइ भएका छन् ।

करिब चार वर्षको युद्धमा रुसी ड्रोन आक्रमणको लहर सहेको युक्रेनले तत्काल कुनै टिप्पणी गरेको छैन । रुसी उड्डयन नियामक रोसाभियात्सियाका प्रवक्ताले ग्रीनविच समय अनुसार विहान १ः०० देखि २ः०० बजेसम्मको बीचमा सेवा बन्द गर्ने घोषणा गरेका थिए । सन् २०२२ मा आफ्नो छिमेकीमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेको रुसले युक्रेनी ड्रोन आक्रमणको जवाफमा पटकपटक आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।