काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे आफ्नो असहमति रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपाले समानुपातिक सूचीमा खुस्बु ओली र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमतीलाई राखेको बारेमा असन्तुष्टि व्यक्त गरेका हुन् । राप्रपा प्रवक्ता शाहीले खुस्बुले अस्तीसम्म राप्रपाको साधारण सदस्यता पनि नलिएको बताए । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग नजिकिएकै कारण खुस्बुले टिकट पाएको उनको टिप्पणी छ । राप्रपामा पनि नातावाद र कृपावाद हाबी भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘खुस्बु ओलीको क्षमता छ । उहाँ अहिले प्रत्यक्ष चुनाव लड्नुपर्ने मान्छे हो । राप्रपाले एक सिट गुमायो नि । उहाँले सजिलो बाटो अपनाउनुभयो । समानुपातिक व्यवस्था नेपालको संविधानले विपन्नको लागि हो । आज राप्रपामा खुस्बु ओलीभन्दा धेरै सक्षम विपन्नहरु छन् । कयौं दिदीबहिनीहरु छन् । उनीहरुले अवसर नपाएको हो । राप्रपाको पुरानो रोग आफ्नो नजिकको मान्छेलाई अवसर दिने रहेछ । अध्यक्षसँग नजिकिएकै कारण उहाँले समानुपातिक कोटा खोज्ने होइन । उहाँ राप्रपाको मान्छे होइन पहिलो कुरा । अहिले हुनुभयो होला, अस्तीसम्म हुनुहुन्थेन । ओलीको किचन क्याविनेटमा काम गरिसकेपछि उहाँको बुबालाई एमालेले टिकट नदिएपछि उहाँ राप्रपामा हामफालेको हो,’– उनले भने ।
त्यसैगरी राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको श्रीमतीलाई समानुपातिकतर्फको उम्मेदवार बनाएकोप्रति पनि उनको असन्तुष्टि रहेको छ । अहिले उनको परिवारको सदस्य ४ जना सांसद रहेको र राप्रपामा बसेर निकै लाभ लिएको उनले बताए । राप्रपाको समानुपातिक कोटाबाट बुद्धिमानले २०७९ मा चार जना मान्छेलाई सांसद बनाएको उनले बताए । जनजातिमध्ये बुद्धिमान तामाङ सबैभन्दा सम्पन्न परिवार रहेको उनले बताए । उनको श्रीमतीले पाउने कोटा अरुलाई दिन सकिने उनले बताए । गल्ली गल्लीमा गएर काम गर्ने कार्यकर्तालाई त्यस्तो पदमा स्थान दिनुपर्ने उनले बताए । उनले बुद्धिमानलाई अवसरवादीको संज्ञा दिए । उनले यस्ता कुराको विरोध कार्यसम्पादन समितिमा गरेको भए पनि कसैले नसुनेको दुखेसो पोखे ।
उनले समानुपातिक सूची संशोधन गर्न आग्रह गरे । बुद्धिमानको परिवारलाई पटक–पटक सांसद बनाउनका लागि कार्यकर्ताले भोट हाल्न आवश्यक नरहेको उनले बताए । कांग्रेस, एमाले हुँदै राप्रपामा पनि परिवारवाद र नातावाद हाबी भएको उनले बताए । उनले कुनै पनि नेताले अवसरवादी चरित्र देखाउन नहुने बताए । खुस्बु र पटक–पटक अवसर पाएका बुद्धिमानको श्रीमतीलाई सांसद बनाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताले भोट हाल्न नहुने उनले बताए । उनले यस्तो अवसरवादी चरित्रले पार्टी र देश नबन्ने बताए ।




प्रतिक्रिया