आम निर्वाचनमा कांग्रेस-एमालेसँग गठबन्धन गर्दैनौंः नेकपा नेता गजुरेल (भिडिओसहित)


काठमाडौं, २१ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले राष्ट्रलाई दुर्घटनाबाट बचाउन र डिरेल भएको संविधानलाई ट्याकमा ल्याउनका लागि चुनावभन्दा बाहेक अर्को विकल्प नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचन भएन भने राष्ट्रिय, अन्तर्राष्ट्रिय धेरै चलखेल हुने बताएका हुन् । त्यस्तो अवस्थामा देश दुर्घटनातिर जान सक्ने, धमिलो पानीमा माछा मार्ने काम हुन सक्नेलगायतका कारणले पनि चुनाव गराउनै पर्ने उनले बताए ।

‘चुनावको विकल्प छैन । यो सरकार चुनाव गर्नका लागि र देशलाई नयाँ निकास दिनका लागि आएको हो । यसको मुख्य कार्यभार यसले पूरा गर्न पर्छ । हामी यसकाले लागि तयार छौं,’– उनले भने ।

उनले नेपाली कम्युनिष्ट पार्टीले जेन–जी आन्दोलनका विरोधीसँग चुनावी गठबन्धन नगर्ने बताए । राष्ट्रिय सभाको निर्वाचनको प्रक्रियामा भएको सहकार्यलाई अन्यथा मान्न नहुने र आम निर्वाचनमा भने जेन–जी आन्दोलन विरोधी शक्तिसँग सहकार्य नहुने उनले बताए । विगतमा झैं आफ्नो एजेणडाविहीन बनाएर अब आफूहरु निर्वाचनमा नजाने उनले बताए । उनले आम निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको कांग्रेस–एमालेसँग सहकार्य नहुने दाबी गरे ।

‘नेपाली कांग्रेससँग पनि गठबन्धन हुँदैन । अब आन्दोलनलाई दमन गर्ने, आन्दोलनको कारण नै प्रचण्ड नेतृत्वको सरकारलाई अपदस्थ गरेको हो नि कांग्रेस–एमाले मिलेर । संविधान संशोधनको बहानामा उहाँहरुले भ्रष्टाचारीलाई जोगाउन गर्नुभयो । त्यसकारणले पनि सहकार्य हुन सक्दैन,’– उनले भने ।