रविको रास्वपासँग चुनावी गठबन्धन गर्ने प्रचण्डको नेकपाको चाहना


काठमाडौं, २१ पुस । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई लिएर विभिन्न दलहरुबीच चुनावी तालमेल र गठबन्धन हुने चर्चा चलिरहेको छ । यसैबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ताले पनि दुई कम्युनिष्ट घटकहरुले चुनावी गठबन्धन गर्ने हुन् कि भन्ने शंकाको सुविधा दिएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, हाल ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्रीसमेत रहेका उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलगायतसँग सहमति गरेर चुनावको तयारी गरिसकेको छ । रास्वपाले बालेन्द्रलाई चुनावपछिको प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको छ भने कुलमानलाई पार्टीको उपसभापति बनाउने भएको छ । यसरी रास्वपाले आफ्नो शक्तिलाई अझ संगठित गरिरहेको छ ।

यता, नयाँ र वैकल्पिक भनिएका शक्तिहरु एकजुट हुँदैगर्दा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच पनि चुनावी सहकार्यको गाइँगुईँ चलेको छ । तर, नेकपाका नेता हरिबोल गजुरेल कांग्रेस, एमाले जेन–जी आन्दोलनविरोधी शक्ति भएकाले उनीहरुसँग आम निर्वाचनमा सहकार्य नहुने बताउँछन् । यद्यपि रास्वपासँग भने नेपाली कम्युनिष्ट पार्टीको चुनावी गठबन्धन गर्ने चाहना रहेको नेता गजुरेलको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । रास्वपाका सभापति रवि लामिछानेसँग नेकपाले सहकार्य गरेर नै अगाडि बढेको नेता गजुरेल बताउँछन् । पुष्कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा रविलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको भन्दै उनले रास्वपाको नेपाली कम्युनिष्ट पार्टीसँग सबैभन्दा नजिकको सम्बन्ध हुनुपर्ने बताए ।

‘रवि लामिछानेसँग त सहकार्य गरेर नै हामी अगाडि बढेको हो नि त । त्यही सहकार्य गरेको वापत प्रचण्ड नेतृत्वको सरकारलाई अपदस्थ गरेको हो भनेपछि त रविजीले बुझ्नुपर्यो नि । नेपाली कम्युनिष्ट पार्टीसँग उहाँहरुको सबैभन्दा नजिकको सम्बन्ध हुनुपर्ने हो नि अहिले त । उहाँहरुको त्यतातिर ध्यान छैन । खाली पपुलिस्ट कुरामात्रै गर्नुहुन्छ । नेपाली कम्युनिष्ट पार्टी पुरानो होइन नि । कांग्रेस, एमाले भनेका पुराना हुन् । पुष्टि भइसक्यो । आन्दोलन विरोधी हुन् । उनीहरुकै कारण देशमा यस्तो अवस्था सिर्जना भयो,’– उनले भने ।

रास्वपाका सभापति लामिछानेले राजनीति गर्ने हो भने नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य, समझदारी र अलिकति सफ्ट हुनुपर्ने उनको भनाइ छ । रविप्रति नेपाली कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीप्रति रविको रास्वपा सफ्ट भएर अगाडि जानु नै बुद्धिमानी हुने उनले बताए । रास्वपा सभापति लामिछानेले राजनीति गर्ने हो भने एजेण्डामा एक हुनुपर्ने नेता गजुरेलको भनाइ छ ।