विशेष महाधिवेशन भयो भने कांग्रेस फुट्छः सञ्जय गौतम (भिडिओसहित)


काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका नेता सञ्जय गौतमले पार्टी एकदमै अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस एकदमै गलत र अप्ठ्यारो बाटोमा गइसकेको बताएका हुन् । उनले कांग्रेसलाई फुटबाट बचाउनका लागि धेरै ढिला भइसकेको बताए । पार्टी सभापति एकतिर रहेको बेलामा अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विवेक पुर्याएर अगाडि बढ्नुपर्ने उनले बताए ।

नेता गौतमले कांग्रेसको विशेष महाधिवेशनले निकास ननिस्किएर दुर्घटना निम्त्याउने बताए । ‘विशेष महाधिवेशनले निकास निस्किँदैन । त्यसले दुर्घटना निम्त्याउँछ । उहाँहरुले जेन भनिराख्नुभएको छ, त्यसले निकास निस्किन्छ जस्तो मलाई लाग्दैन । यसले नै दुर्घटनालाई निम्त्याउँछ भन्ने मलाई लाग्छ,’– उनले भने ।

विशेष महाधिवेशन पक्षधरले गरेको ५४ प्रतिशत मतले वैधानिकता पाउनेमा पनि उनले प्रश्न उठाए । धेरैजसो महाधिवेशन प्रतिनिधिहरुले पार्टी फुट्ने अवस्थामा आफ्नो हस्ताक्षर फिर्ता लिने उनले बताए । अहिले निर्वाचनको मुखमा झगडा गर्ने समय नरहेको उनको भनाइ छ ।