रवि नेतृत्वको रास्वपाले संघीयता स्वीकार गर्ने, प्रदेशमा पनि उम्मेदवारी दिने


काठमाडौं, २१ पुस । उज्यालो नेपाल पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएका नेता जितराम लामाले आफूहरुले आगामी निर्वाचनमा प्रदेशसभामा पनि उम्मेदवारी दिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले संविधान, संघीयता, समानुपातिक समावेशितालगायतका विषयमा एजेण्डा र कार्यक्रम मिलेकै कारण पार्टी एकता प्रक्रियामा आएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक सहभागिता लगायतका विषयमा प्रश्न उठेका थिए । सबै कुरा हाम्रो संवादमा पायौं । हामी बीचमा एजेण्डा र कार्यक्रम पनि मिल्यो ।’

उनले संविधानमा भएको व्यवस्थाभन्दा अहिले दायाँबायाँ जान नसकिने बताए । भइराखेका एजेण्डालाई अहिले थप प्रष्ट्याउने कामहरु भइरहेको बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा प्रदेशमा त उम्मेदवारी नै दिएन नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यतिखेरको विषय फरक थियो । अब उम्मेदवारी दिन्छौं । मानेर जान्छौं ।’