न्युयोर्क, २१ पुस । इजरायलको चलिरहेको सैन्य कारबाहीको परिणामस्वरूप १२ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा “जबरजस्ती विस्थापन“ को अवस्थामा बाँचिरहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले जनाएको छ ।
सन् २०२५ जनवरी– २१, देखि, इजरायली सेनाले उत्तरी वेस्ट ब्याङ्कमा “आइरन वाल“ भनेर चिनिने सैन्य कारबाही गरिरहेको छ, जुन जेनिन शरणार्थी शिविरबाट सुरु भएर नूर शम्स र तुलकार्म शरणार्थी शिविरहरूमा विस्तार भएको छ ।
युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा कब्जामा रहेको वेस्ट ब्याङ्कमा बालबालिकाहरुको जबरजस्ती विस्थापनको अवास्था बताएको हो ।
एजेन्सिले फेब्रुअरी २०२५ मा यसले उत्तरी वेस्ट ब्याङ्कमा विस्थापित बालबालिकाहरूका लागि आपतकालीन शिक्षा कार्यक्रम सुरु गरी अस्थायी सिकाइ , अनलाइन शिक्षण, आत्म–सिकाइ सामग्रीको वितरण र मनो–सामाजिक समर्थनको माध्यमबाट उनीहरूको शिक्षाको निरन्तरता सुनिश्चित गरेको जनाएको छ ।
युएनआरडब्लुएले वेस्ट ब्याङ्कका स्कुलहरूमा करिब ४८ हजार प्यालेस्टिनी बालबालिका अध्ययनरत रहेको उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर–७ मा गाजा पट्टीमा युद्ध सुरु भएदेखि, इजरायली सेनाले वेस्ट ब्याङ्कमा प्यालेस्टिनी नागरिकहरूको हत्या गर्ने, घरहरू ध्वस्त पार्ने र बासिन्दाहरूलाई विस्थापित गर्ने, र बस्ती निर्माण विस्तार गर्ने जस्ता कार्यहरू तीव्र पारेका छन् । रासस




प्रतिक्रिया