काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नयाँ भनिएकाहरुसँग विचार–सिद्धान्त र संगठनको बारेमा सोध्नुपर्ने बताएको छ। आज सो दलले एक अपिल जारी गर्दै भनेको छ,‘निर्वाचनमा पूराना भनिएका पार्टी र तिनका नेतालाई सोधौं–तपाईंहरुको नेतृत्वमा किन यो मुलुकको राजनीति बर्बाद भयो ? नयाँ भनिएकाहरुलाई पनि सोधौं–तपाईंको कुन विचार–सिद्धान्त र संगठनले हाम्रो राष्ट्रको दुर्गति रोकिन्छ ? यी प्रश्नको उत्तर खोज्न सकिएन भने आगामी निर्वाचनको परिणामले देशलाई केही पनि दिने छैन ।’
नेकपा संयुक्तले नेपालले लोकतान्त्रिक–गणतान्त्रिक व्यवस्था ल्याएपनि लोकतान्त्रिक–गणतान्त्रिक नेतृत्व भएका राजनीतिक पार्टी नपाएको दाबी गरेको छ ।
पूराना पार्टीका नेताहरु विचौलियाका मतियार भएको उसको दाबी छ । नयाँ भनिएका पार्टीहरु पनि भरपर्दो नभएको उसको अर्को दाबी छ । अपिलमा भनिएको छ,‘हाम्रा पुराना पार्टीका नेताहरु विचौलियाका मतियार भए । ती सबै पार्टीहरु नेताका जमिन्दारीजस्ता भए, तिनमा लोकतन्त्र छैन । नयाँ भनिएका पार्टीहरु पनि भरपर्दो देखिएन् । तिनीहरुमा विचार–सिद्धान्त त छँदैछैन, जसरी हुन्छ छिटो सत्तामा पुग्ने हुटहुटी बाहेक अर्थोक छैन । तिनीहरुले पद र सत्ताको भागबण्डाका लागि जसरी लुछाचुँडी गरेका छन्, जस्ता चर्तिकला देखाउँदैछन्, त्यसबाट उनीहरु पनि पूराना नेताका नयाँ सन्तान नै हुन भन्ने देखिन्छ ।’ नेकपा संयुक्तले नयाँहरु प्नि अन्ततः विचौलिया–दलाल पुँजीपतिकै गोटी बन्ने दाबी गरेको छ ।






प्रतिक्रिया