काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका नेता रमेश धमलाले पार्टीले महामन्त्री गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेर निर्वाचनमा जानुपर्ने बताएका छन् । रिपोर्टर्स नेपालको साक्षत्कार कार्यक्रममा संवाद गर्दै उनले अब पार्टीले प्रधानमन्त्रीको उम्मेदवार कसलाई बनाउने भन्ने कु्रा क्लियर रहेको बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई पार्टीमा ल्याएर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको तर्फलक्षित गर्दै अब कांग्रेसले गगनलाई पछाडि धकेल्न नहुने बताए ।
‘प्रधानमन्त्री कसलाई बनाएर जाने भन्ने कुरा क्लियर छ । अहिले आम जनताको बीचमा मस्ट पपुलर गगनकुमार थापा हुनुहुन्छ । हिजो जुन ढंगको राजनीतिक चक्रव्यू देशमा बढेको थियो, त्यो घटनापछि आज एउटा स्वतन्त्र मान्छेलाई पार्टीमा लगेर जोडेर प्रधानमन्त्री घोषणा गरेको छ कि छैन ? त्यो बाध्यकारी अवस्था कसरी निर्माण भयो होला । हामीले आज उहाँ (गगन) लाई प्रधानमन्त्री बन्दिनुस् भनेर भन्नुपर्ने परिस्थितिमा घेरबन्दी गरेर धकेल्ने प्रयास गरिराखेका छौं । त्यो गलत छ,’– नेता धमलाले भने ।
२०५६ सालको निर्वाचनमा पनि गिरिजा प्रसाद कोइरालाले किसुनजीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर अनुमोदन गराएको उनले स्मरण गरे । कांग्रेसको इतिहास अहिले अरुलाई देखाउन आवश्यक नरहेको उनले बताए । उनले अग्रजहरुको अनुभव लिएर गगन अगाडि बढ्नुपर्ने बताए ।




प्रतिक्रिया