मिलन लिम्बुले लिए समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता


काठमाडौं, २१ पुस । रास्वपाका युवा नेता मिलन लिम्बुले समानुपातिकतर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनको नाम रास्वपाबाट प्रतिनिधिसभाको निर्वाचनको लागि आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश भएको थियो । तर, उनले आज उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय लिएको घोषणा गरेका छन । उनले आफूले नाम फिर्ता लिएको कदमले पार्टीको दीर्घकालिन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिईएको सचेत र जिम्मेवार राजनीतिक निर्णय भएको उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।
नेपालको संविधानमा सुनिश्चित समानुपातिक÷समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिवद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार नै मैले समानुपातिकतर्फ उम्मेदवारी दिएको थिएँ ।
तर, एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनु भएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष छ । नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता–कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ ।
यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय हो ।
राजनीति केवल व्यक्तिगत अवसर वा पदको खोजी मात्र होइन, यो विचार, मूल्य र सबै नेता–कार्यकर्ताको भावना समेट्दै अघि बढ्ने साझा अभियान हो । म यसै यात्रामा अघि बढेको छु । यसै यात्रामा समाहित हुन आह्वान पनि गर्दछु ।
समानुपातिक उम्मेदवार चयन गर्ने क्रममा प्राइमरी कलेक्सन भएको थियो । यस क्रममा अत्याधिक मत दिएर यहाँहरूले व्यक्त गर्नु भएको विश्वासप्रति कृतज्ञ रहँदै पार्टी नेतृत्व, रास्वपा मित्रहरू र आम शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु ।
जय घण्टी !
मिलन लिम्बू
माङसेबुङ, इलाम
२१ पुस २०८२