ओली-प्रचण्ड मिल्दा सबै ठाउँबाट बढारिने डरमा कांग्रेस, राष्ट्रिय सभामा ८ सिटमै चित्त बुझाउने


काठमाडौं, २१ पुस । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको रणनीति अपनाउने भएको छ । आज (सोमबार) बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नुपर्ने आवश्यकता रहेको ब्रिफिङ गरेका थिए । कावा सभापति खड्काले ८ सिट पाएमा कांग्रेस गठबन्धन गर्न तयार हुने बताएका थिए ।

आगामी माघ ११ गते रिक्त हुन गइरहेको १८ सिटमा निर्वाचन हुँदैछ । निर्वाचन हुन लागेको १८ सिटमध्ये एक्लाएक्लै प्रतिस्पर्धा हुँदा कांग्रेसले १५ सिट जित्ने पक्का छ । तर, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी मिलेको खण्डमा सबै ठाउँबाट हात धुनुपर्ने डरले कांग्रेसले ८ सिटमै चित्त बुझाउनका लागि गठबन्धनको कार्ड फालेको हो ।

कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले कार्यवाहक सभापति खड्काले निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेको बताईन् । कांग्रेसले तालमेल गर्न आफ्नो तर्फबाट ८ सिटको दाबी प्रस्तुत गरेको कार्यवाहक सभापति खड्काले बैठकमा ब्रिफिङ गरेको नेतृ कोइरालाको भनाइ छ ।

‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ। कार्यवाहक सभापतिज्यूले कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिट दाबी गरेको ब्रिफिङ बैठकमा गर्नुभएको छ,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले भनिन् ।