काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न षड्यन्त्र गरेर र घटना घटाएर चुनाव भाँड्ने काम नगर्न चेतावनी दिएका छन् । आज (सोमबार) आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब देशको निकास चुनावबाट मात्रै सम्भव रहेको बताएका हुन् । उनले पूराना राजनीतिक दलबाट निकास नआएको भन्दै अब तिनीहरुलाई प्रतिपक्षमा राखेर रास्वपालाई बहुमत दिन आग्रह गरे ।
‘विभिन्न षड्यन्त्र गरेर चुनाव भाँड्ने, घटनाहरु घटाइदियो भने चुनाव सर्छ कि भन्ने काम नगर्नुहोला । चुनाव नै हो । चुनावबाट नै निकास दिने हो । जति पनि पुराना राजनीतिक दलहरु र माया गर्ने साथीहरुलाई म यहीँबाट बताउन चाहन्छु कि तपाईँले माया गरेको राजनीतिक दलबाट निकास नआएपछि अझै पनि तपाईँ ती पुराना दललाई माया गर्नुहुन्छ भने एउटा काम गर्दिनुस् । आफूले माया गरेको दललाई एक पटकलाई प्रतिपक्षमा राख्नुस्,’– उनले भने ।
साथै, उनले बालेन्द्र शाहको उदयले राजनीतिमा युवाहरुको चासो बढाएको बताए । बालेन्द्र शाहको उदयले नेपालको राजनीतिले नयाँ झँकार सुरु गरेको पनि उनले बताए । त्यही अभियानमा अगाडि बढ्दै आफूहरु यहाँसम्म आइपुगेको उनले बताए ।
साथै, जेन–जी आन्दोलनमा क्षति नभएको भए हुन्थ्यो भन्ने आफूहरुलाई लागेको पनि उनले बताए । तर, त्यस्तो किसिमको चरणमा जाँदै छ भनेर रास्वपाले यसअघि निरन्तर भन्दै आएको पनि उनले स्मरण गराए ।




प्रतिक्रिया